सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, गत हप्ताको सुनुवाइ स्थगित भइसकेपछि आज पुनः पेसी तोकिएको हो।
उनले भने, “गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अव के हुन्छ हेर्दै छौँ।”
गत हप्ताको निर्धारित पेसीमा रवि लामिछाने पक्षका कानुनी प्रतिनिधिहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। त्यसपछि मुद्दा रोकिएको थियो।
आज भने सहकारी ठगीको अभियोगसम्बन्धी मुद्दा फेरि अदालतको कार्यसूचीमा परेर सुनुवाइमा छ।
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध दुवैले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।
जिल्ला अदालतले साउन २६ गते लामिछानेले पेश गरेको जमानत अस्वीकार गरेको थियो।
लामिछानेले आफूमा परेको बिगोमध्ये आफ्नो भाग बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतस्वरूप दाखिला गरेका थिए।
छविलाल जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए।
तर जिल्ला अदालतले सहकारीमा कति-कति भागमा बिगो पर्छ भन्ने स्पष्ट नभएको भन्दै दुवैको जमानत अस्वीकार गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो।
१० करोडभन्दा बढी बिगो कायम
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ।
लामिछाने र जोशी दुवै पनि हाल थुनामै छन्।
आज तोकिएको सुनुवाइलेजमानतबारे नयाँ निर्णय आउने कि नआउने,उनीहरू थुनामै रहने कि पुर्पक्षमै रिहा हुने, भन्ने विषयमा निर्णायक प्रभाव पार्ने देखिन्छ।






