पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि चयनमा सिंगो पार्टीलाई मार्गदर्शन गर्न सक्षम ऊर्जावान र जिम्मेवारीपूर्ण प्रतिनिधिहरू चुनिने विश्वास व्यक्त गरेकी छिन्।
भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै महाधिवेशनले पार्टीलाई वर्तमान ‘विषम राजनीतिक परिस्थिति’ बाट अघि बढाउने नेतृत्व चयन गर्ने दृढ अपेक्षा व्यक्त गरिन्।
उनले आफ्नो पार्टी सदस्यता दुई वर्षअघि विधानअनुसार नवीकरण भए पनि नेतृत्वले अनुचित रूपमा रोकेको कारण महाधिवेशन हलमा भौतिक उपस्थिति हुन नसकेको उल्लेख गरिन्।
तर, उनले आफू महाधिवेशनमा अप्रत्यक्ष रूपमा निरन्तर साथमा रहने प्रतिवद्धता जनाइन्।
भण्डारीले लेखेकी छन्—
“विधिसम्मवत् ढंगले दुई वर्षअघि मेरो सदस्यता नवीकरण भइसकेको थियो। रोकिएको भएकाले महाधिवेशन हलमा नभए पनि, पार्टीलाई अग्रगतितर्फ लैजाने नेतृत्व चयनका लागि सबै क्षेत्रबाट दक्ष प्रतिनिधि चयन हुने विश्वास छ।”
उनका अनुसार महाधिवेशन एमाले सदस्यहरू मात्र नभई आम नागरिककै सरोकार समेत भएको ऐतिहासिक अवसर हो।
पार्टीलाई सामाजिक–आर्थिक रूपान्तरणतर्फ मार्गनिर्देशन गर्ने नीतिगत तथा नेतृत्वगत निर्णय यही महाधिवेशनबाट हुने उनले बताइन्।
भण्डारीले भनिन्—
“वैचारिक रूपमा परिपक्व नेता–कार्यकर्ता, अनुशासित युवा पुस्ता र सबै क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी चयन प्रक्रिया हुनेमा पूर्ण विश्वास छ।”
पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई देशभक्त र राष्ट्रवादी नेपाली जनताको आशा–भरोसाको केन्द्र भन्दै आगामी महाधिवेशन सफल होस् भन्ने शुभेच्छा व्यक्त गरिन्।






