काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्ने नाममा सिंहदरबारभित्र र बाहिर हुलहुज्जत गर्दै आएका समूहको नेतृत्व गर्ने विकेश साह पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु शाहका छोरा रहेको खुलाशा भएको छ।
प्रहरीका अनुसार विकेश साह यसअघि जेन–जी आन्दोलनका क्रममा संसद भवन, एमाले केन्द्रीय कार्यालय र भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी र तोडफोडमा संलग्न भएको भिडियो प्रमाण प्रहरी अपराध महाशाखाले संकलन गरिसकेको छ।
सिंहदरबार सुरक्षामा खटिएको प्रहरी गणले लगातार दुई दिनको गतिविधि विश्लेषण गर्दै विकेश साह, मिराज ढुंगाना, सुप्रिया शाहीलगायतका व्यक्तिहरूले फरक–फरक समूह बनाएर सरकारी परिसरमा धक्का–मुक्की, चर्काचर्की र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको प्रतिवेदन माथिल्लो निकायमा पठाएको हो।
केही दृश्यहरू विकेशले आफैँ सामाजिक सञ्जालमा अपलोड गरेका थिए, जसलाई पछि हटाए पनि प्रहरीसँग सुरक्षित रहेको बताइएको छ।
भदौ २३ र २४ मा भएका हिंसात्मक घटनामा उनको सक्रिय सहभागिताबारे औपचारिक ब्रिफिङ सम्बन्धित निकायलाई दिइएको सिंहदरबार प्रहरीले जनाएको छ।
विकेशका पिता प्रभु साह—माओवादीमार्फत बारम्बार सांसद र मन्त्री बन्दै आएका, पछि एमाले हुँदै सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर सांसद बनेका—त्यही नेताका छोरा हुन्।
जेन–जी समूहका केही अगुवाहरूले नै “नेपो किड्स” भन्दै विकेशमाथि चरम आलोचना गर्दै आएका छन्। उनीहरूका अनुसार आफू ‘व्यवस्था परिवर्तन’को नारा लगाउने तर आफ्नै पारिवारिक हैसियत प्रयोग गरेर आन्दोलन कब्जा गर्ने प्रवृत्ति देखिएको छ।
साहकी पत्नी रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन्। २०७४ र २०७९ दुवैपटक चुनाव जितेकी उनी स्थानीय राजनीतिमा प्रभावशाली मानिन्छिन्।
विकेशले केही महिना अघि बुबा प्रभु साहलाई प्रमुख अतिथि बनाएर जेन–जीको भ्रातृ संगठन गठन गरेको पाइएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, काठमाडौं महानगरले व्यवस्थापन गरेर हटाएका कबाडी समूहका व्यक्तिहरूलाई पनि विकेश साहले जेन–जी आन्दोलनका बेला आगजनी र लुटपाटमा संलग्न गराएको संकेत अनुसन्धानमा देखिएको छ।
प्रहरीले यो कार्यलाई योजनाबद्ध रूपमा जनआन्दोलनलाई ‘हुलदंगामा मोड्ने प्रयास’का रूपमा व्याख्या गरेको छ।
जेन–जीका मागबारे सरकारले संवाद खोजिरहेको बेला सिंहदरबारभित्रै हुलहुज्जत हुनुले प्रश्न उठाएको छ।
सुरक्षा निकायका उच्च अधिकारीहरू भन्छन्—“शान्तिपूर्ण विरोध अधिकार हो, तर सिंहदरबारभित्रको सुरक्षा वृत भत्काउने, प्रहरीमाथि हातपात गर्ने, सरकारी सम्पत्ति नष्ट गर्ने गतिविधि योजनाबद्ध रूपमा भइरहेको छ।”






