सुर्खेत — सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरस्थित श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलका होस्टेल सञ्चालक ४० वर्षीय महेन्द्र अर्याललाई होस्टेलमै बस्ने छात्रामाथि यौनजन्य हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंसिर ३ गते राति करिब ९ बजे, कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि अर्यालले ललाई–फकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीविरुद्ध खोजी सुरु गरेको थियो।

घटनापछि फरार रहेका आरोपितलाई प्रहरी नायब निरीक्षक (एसआई) भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको ५ सदस्यीय टोलीले बाचकाँडा भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ परेका अर्याललाई हाल इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ। उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा होस्टेल तथा विद्यालयमा बालबालिकाको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय