टोखा–९ नयाँ बसपार्कको सडकछेउमा झण्डै १० दिनदेखि तन्नाले बेरिएको एउटा ‘फोहरको बोरा’ जस्तै वस्तु देखिन्थ्यो। सबैलाई त्यो सामान्य फोहरजस्तै लाग्थ्यो, कोही नजिक गएर हेर्ने जाँगर कसैले पाएनन्। गन्ध पनि खासै नआएपछि त्यो त्यहीँ थन्किएको थियो।

तर शनिबार बिहान स्थानीयले सरसफाइ गर्दै गर्दा त्यो भारी असामान्य रूपमा गह्रौँ महसुस भयो। आकार पनि फोहरसँग नमिलेपछि एकजनाले शंका व्यक्त गरे— “यो त फोहर जस्तो लागेन, खोलेर त हेरौँ न…”

शंका लागेर खोलेर हेर्दा त… भित्र महिलाको शव देखिएपछि स्थानीयको रुवाबासी चल्यो। पहिचानपछि थाहा भयो— आयुषा मगर, जो कात्तिक २६ गतेदेखि हराएकी थिइन्।

प्रहरी अनुसन्धानले थप डरलाग्दो सत्य निकालेको छ। नयाँ बसपार्कमा रहेको एक होटलमा काम गर्ने सूर्य थापा मगरले ५०० रुपैयाँका कारण विवाद भई आयुषाको घाँटी कसेर हत्या गरेको खुलेको हो। हत्यापछि उनले शवलाई होटलकै तन्ना र तकियाको खोलले बेरेर राति १:५२ बजे बाहिर लगेका थिए।

सीसीटीभी फुटेज, होटलका सामानमा भेटिएको ट्याग, समयक्रम र मोबाइल कल डिटेल मिलेसँगै प्रहरीले हत्यारा सूर्यलाई तत्काल नियन्त्रणमा लियो।

१० दिनसम्म फोहर सम्झेर गरिएको लापरबाही, रातारात बोकेर फालिएको शव, र ५०० रुपैयाँका लागि भएको निर्मम हत्या— आउँदा–जाँदा सबैले देखेकै ठाउँमा यति ठूलो अपराध लुकेर बसेको खुल्दा स्थानीयबासी अझै स्तब्ध छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय