जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतवारेका ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट लुटिएको दुवै थान टाइप–५४ चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित उनीहरू पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दमक–८ मा डेरा गरी बस्दै आएका सरोज पुरीलाई एक थान टाइप–५४ पेस्तोल १५ राउण्ड गोलीसहित गएराति पक्राउ गरेको थियो।

सरोजलाई दमक प्रहरीमा ल्याएर सोधपुछ गर्दा उनले बाँकी एक थान पेस्तोल कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्वलाई राख्न दिएको बयान दिए।

त्यसको आधारमा प्रहरीले विश्व लिङ्देनलाई घरमै गई पक्राउ गर्यो। सोधपुछमा विश्वले उक्त हतियार इलाम चुलाचुली–४ का पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकारे।

जिल्ला प्रहरी कार्यालय काँकडभिट्टाको शाखा र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेर पवनको बारीमा खाल्डो खनेर राखिएको रातो प्लास्टिकमा बेरिएको टाइप–५४ पेस्तोल (५ राउण्ड लोड अवस्थामा) फेला पारेको थियो। बरामद हतियारमा खिया लागेको देखिएको प्रहरीले जनाएको छ। यसपछि पवनलाई पनि नियन्त्रणमा लिइएको हो।

बरामद हतियारसहित तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विश्वका पिता विश्वदीप लिङ्देन २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेर केपी शर्मा ओलीलाई पराजित गरी चर्चामा आएका थिए।

दुुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनयन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय