बलिउडका वरिष्ठ तथा अत्यन्त लोकप्रिय अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा उनले सोमबार दिउँसो १ बजे मुम्बईस्थित आफ्नै घरमा अन्तिम सास लिएका हुन्। पारिवारिक स्रोतले निधनको पुष्टि गरेको छ। भारतीय मिडियाका अनुसार उनको अन्तिम संस्कार विले पार्ले श्मशान घाटमा गरिनेछ।

गत सातादेखि स्वास्थ्य समस्याका कारण धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका थिए। श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि तीन दिनसम्म उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार भएपछि घर फर्किए पनि घरमै उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ।

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाबको नसराली गाउँमा जन्मिएका धर्मेन्द्र भारतीय फिल्म उद्योगका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’ मानिन्छन्। उनका सहकर्मी देव आनन्दले समेत उनलाई देखेर– “हे भगवान्, यस्तो अनुहार मलाई किन दिँदैनस् ?” भन्ने गरेको प्रसंग आज पनि चर्चित छ।

सात दशक लामो अभिनय यात्रामा उनले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरे। ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतीज्ञा’ लगायतका फिल्मले उनलाई बलिउडको अविस्मरणीय नाम बनाए।

मुम्बई पुगेपछि सुरुमा ग्यारेज र ड्रिलिङ कम्पनीमा महिनाको २०० रुपैयाँ तलबमा काम गर्नुपरेको थियो। संघर्षकै बीच उनले ‘फिल्मफेयर ट्यालेन्ट हन्ट’ जितेपछि पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’ मा अभिनय अवसर पाए।

तर, स्टार बन्नु उनका लागि सजिलो थिएन। १९६६ को ‘फूल और काटे’ प्रदर्शनपछि मात्र उनी रातारात लोकप्रिय बने।

१९५४ मा पहिलो पत्नी प्रकाश कौरसँग विवाह गरेका धर्मेन्द्रका चार सन्तान (सनी, बबी, विजेता र अजिता) छन्।

सन् १९७० पछि अभिनेत्री हेमा मालिनीप्रति आकर्षित बनेका उनले सन् १९८० मा इस्लाम धर्म अपनाएर हेमा मालिनीसँग दोस्रो विवाह गरे। उनीहरूका दुई छोरी ईशा देओल र अहाना देओल छन्।

दुई परिवार आजसम्म अलग बसे पनि धर्मेन्द्र दुबै प्रति सन्तुलित र जिम्मेवार मानिन्थे।

‘शोले’ को चर्चित ‘टावरबाट हाम्फाल्ने’ दृश्यमा धेरै टेक दिनुको कारण पनि हेमा मालिनी नै रहेको बताइन्छ। उनले हेमा मालिनीलाई प्रभावित गर्न जानाजानी लगातार टेक दिन्थे, जसले उनीहरूलाई नजिक ल्यायो।

जीवनको अन्त्यतिर धर्मेन्द्र आफ्नो फार्महाउसमा बढी समय बिताउँथे। फलफूल, धानका बाला समाउँदै, माटोसँग कुरा गर्दै उनी आफ्ना फ्यानसँग जीवनका मिठा र सरल क्षणहरू बाँडिरहन्थे।

धर्मेन्द्रको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा ‘एक युगको अन्त्य’ भएको भन्दै अभिनेत्री तथा नेतृ हेमा मालिनी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै जना व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

धर्मेन्द्रको अवसानले भारतीय फिल्म उद्योगले एक महान कलाकार मात्र होइन, संघर्ष, प्रेम, मित्रता र साधारणपनको प्रतीक गुमाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय