राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिएकाे राजीनामा फिर्ता लिएका छन्। शीर्ष नेतृत्वसहितको छलफलपछि दुवैतर्फ सहमति बनेसँगै उनले राजीनामा फिर्ता लिएको पुष्टि गरेका छन्।

विष्टका अनुसार पार्टीभित्र उठाइएका पारदर्शिता, निर्णयहीनता र संगठनभित्रको बेथितिसम्बन्धी गुनासा सम्बोधन गर्न नेतृत्व सकारात्मक बनेपछि आफू पदमा यथावत रहने निर्णयमा पुगेका हुन्।

विष्टले विगत केही महिनादेखि ६ पटक लिखित पत्र, ३ पटक औपचारिक बैठक र विभिन्न अनौपचारिक संवादमार्फत पार्टी नेतृत्वलाई संगठनभित्रका समस्याबारे जानकारी गराउँदै आएका थिए।
तर मागहरू सम्बोधन नभएको भन्दै उनले मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर राजीनामा दिएका थिए।

पार्टी सभापति, महामन्त्रीलगायत शीर्ष नेतासँग भएको विस्तृत छलफलपछि विष्टले उठाएका समस्याहरूलाई नीतिगत रूपमा सम्बोधन गर्ने,संगठनका कमजोरी सुधार्ने, आन्तरिक प्रक्रिया पारदर्शी बनाउने बारे सहमति जुटेको विष्टले बताए।

पार्टीले विष्टको राजीनामा आधिकारिक रूपमा स्वीकृत नगरेकाले उनी निरन्तर जिल्ला सभापतिको भूमिकामा रहने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय