रेडियो अडियो एफएमका सञ्चालक तथा सञ्चारकर्मी दिपेन्द्र खनियाँ आइतबार बिहान आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक रूपमा प्रहरीले यसलाई आत्महत्याको आशंका मान्दै अनुसन्धान अगाडि बढाएको छ, तर घटनाका केही पक्षले प्रश्न पनि उठाएका छन्।
काठमाडौं–बानेश्वरस्थित ऋषिकेश भट्टको पाँचतले घरको चौथो तलाको रेलिङमा बिजुलीको तारमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
सो घर पहिले खनियाकै थियो। केही समय अघि उनले घर भट्टलाई बिक्री गरेका थिए र स्वयं बेचिएको सोही घरको चौथो तलामा परिवारसहित भाडामा बस्दै आएका थिए।
आइतबार मध्यान्ह १२ बजेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरी पुगेपछि मुचुल्का उठाई शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पोस्टमार्टमका लागि पठाइयो।
घटनास्थलमा जबरजस्ती प्रवेश, झगडा वा आकस्मिक भिडन्तको कुनै तत्काल देखिने प्रमाण नदेखिएको प्रहरीको प्रारम्भिक भनाइ छ।
घटनाका वेला श्रीमती र छोरी घरमा थिएनन्।
प्रहरी स्रोतका अनुसार, उनीहरु बाहिर गएको समयमा नै घटना घटेको अनुमान गरिएको छ।
सुसाइड नोट भने फेला परेको छैन, जसले “के आत्महत्या मात्रै हो?” भन्ने प्रश्न पनि उठाएको छ।
खनिया लामो समयदेखि रेडियो पत्रकारितामा सक्रिय थिए र रेडियो अडियोका सञ्चालकका रूपमा कार्यरत थिए।
पछिल्लो समय उनी वित्तीय तनावमा थिए कि थिएनन्, पारिवारिक समस्या थियो कि थिएन? भन्ने प्रश्नमा प्रहरीले परिवार र नजिकका साथीभाइसँग बयान संकलन गरिरहेको छ।
अहिले सम्म वित्तीय वा पारिवारिक विवाद सम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक गरिएको छैन।
खनियाका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।
उनले २०६३ सालदेखि हाँस्यव्यङ्ग्य कार्यक्रम तथा रेडियो पत्रकारितामा पहिचान बनाएका थिए।
पछिल्ला १–२ वर्षयता उनको व्यवसायिक सक्रियता घटेको केही सहकर्मीले बताएका छन्
अहिलेसम्म मिडिया वा प्रहरीद्वारा हत्या, दबाब, धम्की वा विवादका कारण घटना भएको भन्ने कुनै प्रमाण वा तथ्य सार्वजनिक गरिएको छैन।
तर,घर बिक्रीपछि भाडामा बस्नु परेको अवस्था, परिवार बाहिर भएको समयमा घटना हुनु, सुसाइड नोट नफेला पर्नु, यी तीन पक्षलाई लिएर प्रहरी अधिक सतर्कतापूर्वक अनुसन्धान गरिरहेको बुझिएको छ।






