भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाउने अन्तिम तयारी गरेको जनाएको छ।
आयोगका अनुसार हालसम्म छानबिनको ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ र बाँकी उच्च अधिकारीहरूको बयानपछि मात्र ओली र लेखकका लागि प्रश्नावली तयार पारिनेछ।
सरकारले असोज ५ गते पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।आयोगले अहिलेसम्म मुख्यसचिव एकनारायण अर्याल, प्रहरीका डीआईजी स्तरसम्मका अधिकारीहरू सहितका व्यक्तिहरूसँग बयान गरिसकेको छ।
उच्च स्रोतका अनुसार आयोगले नेपाली सेनासँग पनि लिखित जानकारी मागेको छ। आयोगको एक टोली सेनाको मुख्यालयमै पुगेर लिखित प्रश्नावली बुझाएको बताइएको छ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार अब तत्कालीन उपत्यका प्रहरी प्रमुख (हालका IGP),तत्कालीन प्रहरी महानिरीक्षक,तत्कालीन गृह सचिव जस्ता प्रमुख पदाधिकारीहरूको बयान लिन बाँकी छ।
यी बयानका आधारमा “कसले आदेश दियो?”, निर्णय कसरी भयो? भन्ने बुझेपछि मात्रै ओली र लेखकका लागि औपचारिक प्रश्नावली तयार हुनेछ।
आयोगले एक साताभित्र बयान प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ।
आयोगले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूसँग पनि प्रत्यक्ष भेटेर घटनाबारे विवरण संकलन गर्ने तयारी गरेको छ।






