आज बालुवाटारमा सरकार र नागरिक बचाउ महाअभियानबीच भएको विस्तृत वार्तापछि महाअभियानले आइतबारका लागि घोषणा गरेको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको छ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागको विस्तृत छलफल भएको थियो। शान्ति र सुरक्षालाई ध्यानमा राख्दै सरकारले महाअभियानका मुद्दाहरू सम्बोधन गर्न निरन्तर वार्ता र सहजीकरण गर्ने सहमति जनाएको छ।
महाअभियानतर्फ सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली, साथै अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने, डा. निराजन प्रसाईं उपस्थित थिए।
सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सीना सहभागी थिए।
अर्को चरणको वार्ता महाअभियान नेतृत्वसहित यथाशीघ्र गर्ने सहमति भएको छ।







