मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित भित्री सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
ललितपुरबाट सिस्नेरीतर्फ गइरहेको बा.प्र ०१–०२८ च ७१९४ नम्बरको गाडी केहीबेर अगाडी बागमती नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, नदी तर्ने क्रममा गाडीको पछाडिको चक्का ढुंगामा अड्किँदै चिप्लिएको कारण गाडी अनियन्त्रित भई नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
दुर्घटनामा सवार व्यक्तिहरू सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ। तर पानीमा डुबेकाले गाडीमा भने भौतिक क्षति पुगेको छ।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले डुबेको गाडीलाई नदीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






