काठमाडौं — सामाजिक सञ्जाल विशेषगरी फेसबुकका Sponsored Ads को प्रयोग गरी अनलाइनबाट सजिलै कमाई गर्न सकिने प्रलोभन देखाई ठगी गर्ने घटनामा तीव्र वृद्धि भएको प्रहरीले जनाएको छ।
हालसालै विभिन्न अन्तर्राष्ट्रिय ई–कमर्स कम्पनीहरूको नाम दुरुपयोग गर्दै “Online Job”, “Order Completion Task”, “Home-based Work” जस्ता आकर्षक शीर्षक राखी केही घण्टामै हजारौं रुपैयाँ कमाउन सकिने भन्दै विज्ञापनहरू व्यापक रूपमा देखिन थालेका छन्।
प्रहरीका अनुसार, यस्तो योजनामा परिचालित व्यक्तिहरूले सुरुमा सामान्य ‘टास्क’ पूरा गराएजस्तो देखाइ कम रकम पठाइदिने तर पछि “ठूलो बोनस”, “उच्च आय” को प्रलोभन दिँदै दोहोरो–तेहोरो रकम लगानी गराउन दबाब दिने गरेका छन्। लगानी गरेपछि भने रकम फिर्ता नआउने र सम्पर्क समेत बन्द हुने गरेको पाइएको छ।
ठगीमा प्रयोग भएका नामहरूमा यी ब्रान्ड/कम्पनीहरू समावेश छन्:
SMC
Monica Vinader
Temu
Ikea
Modani
Zamzam
Etsy
Jumia
Travelocity
Tucan Travel
Online Jon
ORM
Ixigo
Room and Board
Butterfield & Robinson
यस्ता नाम प्रयोग गरिए पनि उक्त कम्पनीहरू स्वयं यस्ता ‘टास्क–आधारित’ अनलाइन जागिर चलाउने पक्षमा संलग्न हुँदैनन्, प्रहरीले स्पष्ट पारेको छ।
नेपाल प्रहरीले नागरिकलाई यस्ता लोभलाग्दा अनलाइन रोजगारीको विज्ञापनमा नफस्न आग्रह गरेको छ। प्रहरीले शंका लाग्ने विज्ञापन वा गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा जानकारी दिन समेत अनुरोध गरेको छ।







