रौतहटको कटहरिया–१ का नेपाली कांग्रेस वडासदस्य सतलाल दास पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार दिउँसो ४:३० बजे गौरबाट उनलाई नियन्त्रणमा लिएको हो।

दासमाथि आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइफकाइ प्रेमजालमा पारेर भगाएको गंभीर आरोप छ।
चार छोराछोरीका बुबा दासले तीन बच्चाकी आमासँग सम्बन्ध बढाउँदै घरका १२ लाख रुपैयाँ, करिब ३ लाखका गहना, र ५ कठ्ठा जग्गासम्म हिनामिना गरेको पीडित परिवारको दाबी छ।

महिला पछिल्ला महिनादेखि बाराको निजगढमा दाससँगै भाडामा बस्दै आएकी थिइन्।
समुदायले कोठाबाट दुवैलाई फेला पारेर प्रहरीले गरुडामा बुझाएको थियो।
त्यसपछि मेयर अजयप्रकाश जैसवालको पहलमा जमानतमा छाडिएको थियो।

यता पीडित पक्षले मुद्दा कडा रूपमा अघि बढाउन राष्ट्रिय तत्मा समाजले समेत चर्को दबाब बनाएको छ।
शुक्रबार समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसमेत भयो।

प्रहरीका अनुसार— रकम, गहना र जग्गाको ठोस प्रमाण पेश भएमा वडा सदस्य दासमाथि कडा कानुनी कारबाही अनिवार्य हुनेछ।

हाल दास प्रहरी हिरासतमा छन् र घटनाबारे आवश्यक अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय