संखुवासभा — दोलखा मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय डा. अरुण कार्कीको मकालु बेस क्याम्प भ्रमणका दौरान निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी अचानक असहज भएपछि उपचार नपाई मृत्यु भएको हो।
डा. कार्की १ मंसिरमा मकालु बेस क्याम्प पुगेका थिए। त्यहाँ स्वास्थ्यमा समस्या देखिएपछि सहायता पाउन ढिलो हुँदा ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले ३ मंसिरमा एभरेस्ट एयरको हेलिकप्टरमार्फत कार्कीको शव संखुवासभाबाट काठमाडौं पठाएको हो।
स्थानीयका अनुसार डा. अरुण कार्की, जनस्वास्थ्य कार्यालय दोलखाका पूर्वप्रमुख कुमार विक्रम कार्की र मैया कार्कीका छोरा हुन्। उनी छाला रोग विशेषज्ञ (Dermatologist) समेत रहेको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






