नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउप्रति कडा आपत्ति जनाउँदै सरकारलाई ‘तुरुन्तै रिहा गर्न’ चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित उपत्यकास्तरीय स्थानीय जनप्रतिनिधि भेलामा बोल्दै उनले सरकारले अभिव्यक्ति दमन गरेको आरोप लगाए।

ओलीले मानव अधिकार आयोगको ताजा भनाइ उद्धृत गर्दै भने,“दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्। बोल्नै नपाउने पनि हुन्छ? मानव अधिकार आयोगले भन्छ—अभिव्यक्तिका आधारमा कसैलाई थुन्न पाइँदैन।”

उनका अनुसार प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोका कारण नै रातारात पक्राउ गरिएको हो।

“भिडियो निकाल्यो, बेलुकै समातियो—के सरकारसँग जवाफ छ?”

ओलीले सरकारलाई प्रश्न गर्दै थपे—“दुर्गा प्रसाईंले एउटा भिडियो निकाल्यो। दिउँसो निस्कियो, बेलुका समातियो।
के त्यसभिडियोको जवाफ सरकारसँग छ? प्रधानमन्त्रीसँग छ? गृहमन्त्रीसँग छ?
प्रश्न उठायो कसैले, भएकै कुरा बोलेको हो नि!”

उनले सरकारले देश शोकमा रहेको समयमा पनि ‘षड्यन्त्र बुन्ने काम’ गरेको आरोप लगाए।

ओलीले प्रसाईंलाई मध्यरातमै पक्राउ गरिएको प्रक्रियामाथि पनि प्रश्न उठाए—

“बोलेको भरमा आक्रोशित भएर मान्छे गिरफ्तार गर्न मिल्दैन।
रातारात किन समातियो? बिहान गरेको भए हुन्थ्यो।
तमासा मात्रै देखायो सरकारले।”

उनले अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रहार हुँदै देशलाई ‘अराजकतातर्फ धकेलिएको’ आरोप लगाए। यिनै ओली हुन् जसले सरकारमा हुदा राजाबादी आन्दोलनको क्रममा दुर्गा प्रसाईंलाई मुद्दा लगाएर थुनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय