मधेश प्रदेशमा आइतबार रातिदेखि सोमबार बिहानसम्म राजनीतिक नाटकपनै चल्यो। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले होटलमै शपथ लिएर नयाँ मुख्यमन्त्री बनेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई आइतबारकै मिति राखेर आज बिहान सबेरै मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
शपथग्रहण जनकपुरमा नभई बर्दिबासस्थित पानस होटलमै सम्पन्न भएको भिडियो सार्वजनिक भएको छ, जसले मधेश राजनीतिमा नयाैँ तरंग ल्याएको छ।
प्रदेश प्रमुख ‘अस्वस्थ’ भन्दै काठमाडौं जाँदै–जाँदै… मुख्यमन्त्री नियुक्त !
रोचक त के भने—यसअघि बिहानै प्रदेश प्रमुख भण्डारी ‘अस्वस्थ भएँ’ भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई स्वास्थ्यलाभको कामना गर्दै बिदाइ पनि गरेका थिए।सोनलले पत्रकारलाई भनेका थिए—”प्रदेश प्रमुख स्वस्थ भएपछि मात्र राजनीतिक प्रक्रिया अघि बढ्छ।”
तर उनको भनाइ बोलेको केही घण्टामै यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भयो। त्यसपछि होटलमै शपथ खुवाइएको दृश्य भाइरल भयो।
नयाँ नियुक्तिपछि निवर्तमान मुख्यमन्त्री सोनल कठोर बने।उनले प्रदेश प्रमुख भण्डारीमाथि सैद्धान्तिक र संवैधानिक मर्यादा तोडेको आरोप लगाउँदै भने—
“मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलियो।”यस घटनाले प्रदेशमा थप राजनीतिक तानातान बढ्ने संकेत देखिएको छ।





