काठमाडौं — जेनजी आन्दोलनको उग्र क्रममा प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राई र प्रहरी जवान उत्तम थापाको कुटपिट गरेर हत्या गर्ने समूहमध्येका एक मुख्य अभियुक्तलाई प्रहरीले काठमाडौंमै पक्राउ गरेको छ।
आन्दोलनका ती दिनहरूमा भाइरल बनेको एक भिडियोले प्रहरीलाई वास्तविक हत्यारा पहिचान गर्न मद्दत गर्यो। भिडियोमा “कजारिया” लेखिएको टीसर्ट, कालो हाफ पाइन्ट, सेतो जुत्तासहित एक युवकलाई वृत्त महाराजगञ्जकै परिसरमा रहेको मन्दिर अगाडि भाटा र दाउराले प्रहरीमाथि निर्मम प्रहार गरेको देखिन्थ्यो।
प्रहरी जवान भुइँमा ढलेपछि पनि अन्धाधुन्ध कुटपिट गरेर हिँडेको त्यो दृश्यले देशभर त्रास फैलाएको थियो।
प्रहरी परिसरले विभिन्न प्राविधिक विश्लेषण र सोधपुछपछि १२ जनालाई पक्राउ गर्यो, जसमा केही नाबालक पनि थिए।
तर टीसर्ट र जुत्ता लगाएका युवक भने लामो समयसम्म पहिचान हुन सकेनन्।
शनिबार सामाखुसीमा राजावादी समूहको जुलुसका क्रममा सोही टीसर्ट लगाएका एक युवक भिडमा देखिए।
लामो समयदेखि गोप्य रूपमा ‘अपरेशन’ चलाइरहेको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लियो।
पहिचान खुल्यो—
इन्द्रबहादुर राई
उमेर ३६ वर्ष
स्थायी ठेगाना : भोजपुर, दोभान गाउँपालिका–२
सोधपुछको सुरुमै उनले प्रहरी हत्या प्रकरणमा संलग्नता स्वीकारेको प्रहरीले जनाएको छ।
उनको पवित्रनगरस्थित कोठा खानतलासी गर्दा चकित पार्ने प्रमाण फेला पर्यो—
प्रहरीबाटै लुटिएको टाइप–५४ पेस्तोल
त्यसको म्यागजिन
७ राउन्ड गोली
आन्दोलनका दिनमै प्रयोग भएको सेतो जुत्ता
हत्या मुद्दा यसअघि पनि
एसपी पवन भट्टराईका अनुसार राईविरुद्ध यसअघि पनि हत्या मुद्दा दर्ता भइसकेको थियो।
२०८० सालमा पनि महाराजगञ्ज क्षेत्रबाटै उनीविरुद्ध मुद्दा दर्ता भएको खुलेको छ।
इन्द्रबहादुर राईलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
प्रहरीको प्रारम्भिक बुझाइ अनुसार, उनी राजावादी जुलुसमा घुसपैठ गर्न गएको सम्भावना पनि देखिएको छ।





