काठमाडौं — नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न एक फरार प्रतिवादी रन्जनकुमार खरेललाई प्रहरीले पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अनुसार, खरेल मधेस प्रदेश, रौतहटको फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षका नागरिक हुन्। उनले नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी ठगी र कागजात किर्ते गर्ने काममा गिरोहसँग मिलेर संलग्नता देखाएका थिए।
सिआईबीका प्रवक्ता एसपी शिवकुमार श्रेष्ठले बताए अनुसार, खरेल आर्थिक वर्ष २०७९/८० मा दर्ता भएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका थिए। गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरी थप कारबाहीका लागि अदालतमा पेश गरिएको हो।
खरेलविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो। अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





