कुलमान घिसिङको नेतृत्वमा गठन गर्न लागिएको नयाँ राजनीतिक पार्टीको नाम अन्ततः ‘नेपाल जनसेवा पार्टी’ मा टुंगो लागेको स्रोतले जनाएको छ। सुरुमा ‘उज्यालो नेपाल पार्टी’ राख्ने गृहकार्य भए पनि टीमका सदस्यहरूको सुझाव अनुसार व्यक्तिसँग जोडिने नाम नभएको विकल्प रोजिएको हो।
स्रोतका अनुसार पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ र केही जेनजीका नेताहरूले पनि नाम परिवर्तनको सुझाव दिएका थिए।
पार्टीको दर्ता अहिलेलाई अनुपकुमार उपाध्याय संयोजक बनाएर गरिनेछ। उपाध्याय पूर्व ऊर्जासचिव हुन्। कुलमान घिसिङले तत्कालै सक्रिय नेतृत्व नगर्ने निर्णय लिएका छन् र चुनाव अघि मात्रै पार्टीमा सक्रिय हुने जानकारी स्रोतले दिएको छ।
स्रोतले थपे, पार्टीलाई काठमाडौंका मेयर बालेन शाहको समर्थन रहने भए पनि उनी कुनै जिम्मेवारीमा रहने छैनन्। त्यस्तै, संस्थापक सुधन गुरुङ पनि टिममा रहने बताइएको छ।
कोर टीमका सदस्यले भने, “अब २ दिनभित्रै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी छ। अहिलेसम्म ३१ जनाको नाम मात्र फाइनल भएको छ र टीम चुस्त बनाउने प्रक्रियामा छौं।”
यो पार्टी नयाँ राजनीतिक विकल्पको रूपमा आगामी चुनावतिर केन्द्रित रहने योजना बनाइरहेको छ।





