जेन–जी आन्दोलनका क्रममा तोडफोड र लुटपाटको ठूलो क्षति व्यहोरेको बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ परेका युवक खोटाङ, ऐसेलुखर्क–१ का ३६ वर्षीय लक्ष्मण सुनाम भएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, ललितपुर शाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजिकुमार आचार्यका अनुसार, सुनामको घरबाट हायात रेजेन्सीका तीन थान टेलिभिजन बरामद गरिएको छ। प्रारम्भिक सोधपुछमा उनले ती टीभी होटलको क्यासिनोबाट ल्याएको स्वीकारेका छन्।
२४ भदौमा जेन–जी आन्दोलन तीव्र बन्दै जाँदा हायात होटलमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण होटल लामो समयदेखि बन्द छ। त्यही क्रममा गायब भएका सामग्रीहरूबारे प्रहरीले अनुसन्धान विस्तार गरिरहेको छ।
बरामद सामग्री र पक्राउ परेका सुनामलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ।





