जेन–जी आन्दोलनका क्रममा आगलागी र ठूलो क्षति व्यहोरेको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा आज दिउँसो ठूलो दुर्घटना भएको छ। भवन भत्काउँदै गरेकै बेला संरचना अचानक धसिँदा केही मजदुरहरु त्यसैमा पुरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार घटना करिब दिउँसो ३ बजेर ४० मिनेटतिर भएको हो। खबर आउँदा एक मजदुरलाई स्थानीयले नै तत्काल उद्धार गरेका थिए। प्रहरी पुगेपछि थप दुई जनालाई निकालिएको र उनीहरूलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लैजाइँदै गरिएको छ।
भत्किएको संरचनाभित्र अझै एक पुरुष अड्किएको आशंका गरिएको छ। उनीतर्फबाट आवाज आएको प्रहरी र स्थानीय बासिन्दाले बताए। उद्धार टोली अहिले पनि अवशेष हटाउँदै उनीलाई निकाल्ने प्रयासमा जुटिरहेको छ।
आजको दुर्घटनापछि नक्साल–भाटभटेनी क्षेत्रको आवागमन प्रभावित भएको छ। सडक छेउमै जोखिमपूर्ण रूपमा भत्काइँदै गरिएको संरचना धेरै दिनदेखि विवादित रूपमा चलिरहेको थियो। सुरक्षा निकायले त्यहाँ आवतजावत अत्यन्त असुरक्षित रहेको भन्दै लगातार सचेत गराउँदै आएको थियो।
जेनजी आन्दोलनका क्रममा लागेको आगलागी र तोडफोडले सुपरस्टोरलाई ठूलो क्षति पुर्याएको थियो। त्यसपछि स्टोर पूर्ण रूपमा भत्काउने काम जारी थियो।





