पाकिस्तानमा प्रधानमन्त्री शाहबाज शरीफको सरकारले संविधान संशोधनको तयारी गरेको छ । त्यसअन्तर्गत सेना प्रमुख असीम मुनिरलाई चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) बनाउने योजना छ । पाकिस्तान सरकारले संसद्मा उक्त संशोधन विधेयक दर्ता गराएको सञ्चारमाध्यमले जनाएका छन् ।
देशको रक्षा र सैन्य कमान्ड संरचनालाई आधुनिकीकरणका निम्ति यस्तो गर्न लागिएको पाकिस्तान सरकारको जिकिर छ । वर्तमान सेना प्रमुखलाई उक्त पदभन्दा माथि एक सर्वोच्च सैन्य कमान्डर दर्जाको प्रस्ताव गरिएको छ ।
शुक्रबार प्रकाशित एक मिडिया रिपोर्टका अनुसार, तीनै सैन्य सेवाबीच बढी समन्वय र एकीकृत कमान्ड सुनिश्चित गर्न सीडीएफ नामक नयाँ पद सिर्जना गर्ने योजना छ ।
त्यहाँको संविधानको धारा २४३ अन्तर्गत प्रस्तावित संशोधनमा नयाँ सीडीएफ पदको नाम र अधिकारका विषयमा विचार भइरहेको द न्युज पत्रिकाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
प्रस्तावित संशोधनबाट असीम मुनिरलाई ‘चिफ अफ डिफेन्स फोर्सेज’ पदमा लैजान सकिनेछ । त्यसबाट उनका अधिकार र शक्ति संवैधानिक रूपमा बढ्ने जनाइएको छ ।
पाकिस्तानले पेस गरेको सीडीएफको मस्यौदा भारतको ‘चिफ अफ डिफेन्स स्टाफ’को प्रारूपसँग मिल्दोजुल्दो छ ।
संशोधनका अरू बुँदामा फिल्ड मार्सलको पदवीलाई जीवनभर कायम राख्ने प्रस्ताव पनि समावेश छ । यसको अर्थ फिल्ड मार्सलले आफ्नो बर्दी सधैँ लगाउन सक्नेछन् । र, उनलाई महाभियोगमार्फत मात्र पदबाट हटाउन सकिनेछ ।
सरकारले उक्त पदसँग सम्बन्धित कर्तव्य र अधिकार परिभाषित गर्नेछ । फिल्ड मार्सललाई कानुनी प्रतिरक्षा प्रदान गरिनेछ । यसबाट के स्पष्ट हुन्छ भने, प्रधानमन्त्री शाहबाज शरीफ असीम मुनिरलाई जीवनभर फिल्ड मार्सलको हैसियतमा राख्न चाहन्छन् ।





