काठमाडौं– जेन–जी आन्दोलनले दबाब बढाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलोपटक खुला प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले “शुद्ध चित्तले कर्म गर्नेबाहेक विकल्प छैन” भन्दै आफू पछाडि नहट्ने संकेत दिएका छन्।
गृहमन्त्री अर्यालले गृह मन्त्रालयलाई संवेदनशील मन्त्रालय भन्दै कतिपय काम सार्वजनिक गर्न नसकिने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले अत्यन्त संवेदनशील छ। धेरै विषय भन्न मिल्दैन, धेरै विषय गरौँसमेत भन्न नपाउने अवस्था हुन्छ।”
उनले सुशासनको बाटो समातेर देशलाई निर्वाचनसम्म पुर्याउने सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका छन्।
उता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलगायतले गृहमन्त्री अर्यालको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामाको माग तीव्र बनाएका छन्। केही दिनअघि काठमाडौंका मेयर बालेन शाहका नजिक मानिने भिक्टोर पौडेलले समेत सामाजिक सञ्जालमा गृहमन्त्री हटाउन ‘ट्रेंड’ चलाउनुपर्ने अभिव्यक्ति दिएका थिए।
जेन–जी आन्दोलनमा राज्य शक्तिबाट भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग आन्दोलनकारीहरूको प्रमुख अडान बनेको छ।





