काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ।
उपचारको क्रममा आज बिहान २:५८ बजे काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ।
पारिवारिक स्रोतका अनुसार, आलमलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
मुटु सम्बन्धी समस्या देखिएपछि कार्तिक दोस्रो सातादेखि उनी अस्पतालमा भर्ना भएका थिए।
अफताब आलम जेठ १४ गते बम विस्फोटसम्बन्धी मुद्दामा उच्च अदालत वीरगन्जबाट सफाइ पाएर थुनामुक्त भएका थिए।
जेलबाट छुटेपछि उनको स्वास्थ्य निरन्तर बिग्रँदै गएको परिवारजनले बताएका छन्।
२०६४ सालको संविधानसभा चुनाव तयारीका क्रममा रौतहटमा बम बनाइरहेको घरमा विस्फोट भएपछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारिएको आरोपमा आलममाथि मुद्दा चलेको थियो।
जिल्ला अदालत रौतहटले उनलाई जन्मकैद को फैसला सुनाएको थियो।
तर, उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै पूणर् निरपराध ठहर गरेको थियो।





