नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक उग्र शैलीमा देखिएका छन्। काठमाडौँमा आयोजित बुद्धिजीवी अन्तर–संवाद कार्यक्रममा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारले देशको अर्थतन्त्र र कानून–व्यवस्था चौपट पारेको आरोप मात्र लगाएनन्, उनीहरूले चुनाव नै नगराउने षड्यन्त्र गरेको आरोप समेत प्रहार गरे।

ओलीका शब्दशैलीमा—“यो सरकार कसका लागि काम गर्दैछ थाहा छैन, तर नेपालका लागि होइन। अखबार हेर्नुस्, कुन कम्पनीलाई कस छुट, कसलाई सुविधा—सबै बेथिति मात्र। नियम अनुसार चलिरहेको प्रणाली रोकिएको छ। आखिर कसका लागि?”

“यो सरकार असंवैधानिक हो”

ओलीले यो सरकारलाई ‘असंवैधानिक’ भन्दै लोकतन्त्रलाई मद्दत गर्नुको साटो ठाडै क्षति पुर्‍याइरहेको आरोप लगाए।
“संसद् विघटन असंवैधानिक थियो। त्यसैले हामी नागरिक सर्वोच्चताको कुरा गरिरहेका छौं।”

त्यसैबीच उनले उद्योगका बिजुली काटेर सरकारले दमन गरेको, भ्रष्टाचार झन् चुलिएको आरोप पनि दोहोराए।

पासपोर्ट रोक्का र उपत्यका छाड्न रोकेको निर्णयप्रति ओली आगोझैँ

सरकारले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौँ उपत्यका छाड्न नदिने भनेर तयारी गरिरहेको खबरमाथि उनी अझै कडा देखिए।
“म देश छाडेर भाग्दिन। भाग्नु पर्‍यो भने शुकरातले पनि भागेनन्, म किन भाग्छु? मर्न परे यहीँ मर्छु,” ओलीले ज्वालामुखीजस्तै बोले।

उनले सरकारका कदमलाई ‘मजाक’ संज्ञा दिँदै थपे—
“देशको सबैभन्दा ठूलो पार्टीका अध्यक्षलाई काठमाडौँ छोड्न नदिने? अनि चुनाव कसरी? पार्टीहरू नभए चुनाव कस्तो?”

“संसद् पुनःस्थापना हुनैपर्छ—अदालतले नगरे राष्ट्रपतिले गर्नुपर्छ”

ओली यतिमै रोकेनन्।

उनका अनुसार अहिलेको परिवर्तन ‘शक–कूल्ड’ र पूर्ण रूपमा प्रतिगमनको प्रक्रिया हो।
“जेन–जी आन्दोलनपछि मैले राष्ट्रपतिलाई संविधानकै बाटोबाट निकास सुझाएँ। तर उल्टै संसद् बाहिरबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो—यो प्रतिगमन होइन भने के हो?”

उनले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलन गर्ने दाबी गर्दै भने—
“जसले विघटन गर्छ, उसैले पुनःस्थापना गर्नुपर्छ। अदालतले गर्‍यो भने ठीकै, नत्र राष्ट्रपति पौडेलले नै गर्नुपर्छ। विघटन गर्ने राष्ट्रपतिले पुनःस्थापना किन गर्न नसक्ने?”

ओलीले पुनःस्थापनाका लागि सबै नागरिक आन्दोलनमा उत्रिनुपर्ने आह्वान पनि गरे।

“एमाले कहिल्यै प्रतिगमनको मतियार हुँदैन”

अन्त्यतिर उनले दलको पक्ष स्पष्ट गर्दै भने—
“हामी प्रतिगमनका मतियार होइनौँ, लोकतन्त्रका पक्षधर हौं। संविधान मिचिएको, पेलिएको, अर्थहीन बनाइएको हामीले सहने छैनौँ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय