जेन–जी आन्दोलनको क्रममा भदौ २५ गते नख्खु कारागारमाथि प्रदर्शनकारीको सम्भावित आक्रमण रोक्न आफू कारागारबाट बाहिर निस्किएको रवि लामिछानेले जाँचबुझ आयोगमा बताएका छन्।

लामिछानेका अनुसार, “त्यो दिन कारागारमै बसिरहेको थिएँ। तर प्रदर्शनकारीहरू नाराबाजी गर्दै हाम्रो कारागारतिर आएपछि सुरक्षाकर्मीहरूले कैदीबन्दी सुरक्षित राख्न असमर्थ हुने अवस्था आएको थियो। त्यसैले म निस्किएको हुँ।”

आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्मासँग लामिछानेले करिब छ घण्टा बयान दिएका थिए। उनले आफूले कारागार प्रशासन र सुरक्षाकर्मीको सहयोगमा घरसम्म पुग्ने रणनीति अपनाएको र भीडले ढुंगा प्रहार गर्न सक्ने जोखिमका कारण ‘रुफटप’ सुविधा भएको गाडी प्रयोग गरेको बताए।

लामिछानेले आयोगलाई आफ्नो कार्यशैली चुस्तदुरुस्त पार्न सुझाव दिएका थिए र मौखिक बयानलाई छिटो लिपिबद्ध गर्न एआई टुल प्रयोग गर्न सल्लाह दिएका थिए।

जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि बयान लिएको थियो। जोशीले पनि पनि तत्काल परिस्थिति नियन्त्रणमा नरहेको र भीड बढ्दै गए कैदीबन्दीमा खतरा हुने भएपछि लामिछानेलाई कारागारबाट मुक्त गर्नु उपयुक्त ठानेको बताएका छन्।

रवि लामिछानेको बयान (भदौ २५ गतेको घटनाबारे)
‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,’ लामिछानेको बयान उदृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुपर्‍यो भनेपछि म निस्किएको हुँ ।’

करिब छ घण्टा लामो बयानको सुरुआतमा लामिछानेले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्माको नाम लिएका थिए ।

‘मैले अर्का सदस्य(विशेश्वर भण्डारी)लाई नचिन्दो रहेछु, तपाईहरू दुई जना यहाँ (आयोगमा) हुनुहुन्छ भनेपछि तपाईहरूमाथिकै विश्वासले बयानमा आएको हुँ,’ लामिछानेले भने, ‘मलाई अरूको विश्वास छैन, तर तपाईहरूको नाम देखेपछि मलाई अन्याय हुनेछैन भनेर बयानमा आएको हुँ ।’

त्यसपछि लामिछानेले त्यो दिन नख्खु कारागारमा भएको घटनाका बारेमा विस्तृत रूपमा बताएका थिए । आफू कारागारमै रहेको अवस्थामा बाहिर प्रदर्शनको खबर आइरहेको र अपडेट भइरहेको भन्दै उनले पछि संसद्‌ भवन, विभिन्न सरकारी निकायहरूमाथि आक्रमणको खबर थाहा पाएको बताए ।

उनले बयानमा गरेको दावी अनुसार, रास्वपा समर्थक एवं प्रदर्शनकारीहरूको एउटा टोली रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने भन्दै नख्खु कारागार पुगेको थियो । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएकाले खाली भएको पदमा ‘रविदाई’लाई लैजानुपर्ने भन्दै भीडले नाराबाजी गर्न सुरु गरेको थियो ।

सुरुमा सानो भीडलाई सामना गरिरहेको सुरक्षाकर्मी र कारागार प्रशासकहरूले पछि भीड बढेपछि भने चुनौती महसुस गरे । प्रदर्शनकारीहरूले ‘रवि लामिछानेलाई बाहिर निकाल्नुपर्ने’ माग बढाउन थाले । त्यसबीचमा कारागार प्रशासनका कर्मचारीहरूले रास्वपाका केही नेता र रवि लामिछानेकी पत्नी निकितालाई खबर गरेको बयानमा दावी छ ।

‘त्यसपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनका कर्मचारी आएर ‘यहाँ हामीले थेग्न नसक्ने भयौं, हजुर गइदिनुपर्ने भयो’ भनेर मलाई आग्रह गरे’ लामिछानेको भनाइ उदृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘म कारागारको पत्र नभई एक डेगपछि चल्दिन भनेपछि पत्र तयार पारेका हुन्, त्यसपछि बल्ल म निस्किएको हुँ ।’

बयानका क्रममा सौहार्दपूर्ण रूपमा कुराकानी भएको र त्यसक्रममा लामिछानेले आयोगलाई आफ्नो कार्यशैली चुस्तदुरुस्त पार्न पनि सुझाव दिए ।

लामिछानेलाई प्रश्न सोध्ने, अनि आयोगका कर्मचारीहरूले जवाफ टाइप गर्ने काम भइरहेको थियो । लामिछानेले ‘तपाईहरूले यसरी काम गर्दा त निकै ढिला हुन्छ, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल प्रयोग गरेर बोलेको कुरा लिपिबद्ध हुनेगरी छिटो गर्नुहोस्’ भनेर सुझाब दिए ।

लामिछानेले नै सहजीकरण गरेर मौखिक बयान लिपिबद्ध हुने काम गरे । उनले बोलेको कुरा लिपिबद्ध गरी लामिछानेले नै रुजु गरेपछि उनको औंठाछाप र हस्ताक्षर सहित अभिलेखिकृत गरिएको थियो । उनले गरेको बयान करिब १० पेज भएको छ ।

कारागारको बाहिरी भाग र भित्र कैदी बस्ने ठाँउसम्म तहतहको सुरक्षाघेरा भएको भन्दै लामिछानेले कारागार प्रशासनले आफूलाई रिहा गर्ने क्रममा गरेका कामकारबाही र क्रियाकलापबारे आफू जानकार नभएको बयान दिएको, स्रोतले बतायो ।

भीड बड्न थालेपछि उनीहरूले रवि लामिछानेलाई नै संयमित बन्नका लागि आग्रह गरिदिन आग्रह गरेको र उनले पटकपटक तोडफोड नगर्न आग्रह गरेको भनी बयान गरेका छन् ।

जाँचबुझ आयोगलाई लिखित जवाफ समेत लेखेका जोशीले घटनाको दिन परिस्थिति नियन्त्रणमा नरहेको भन्दै भीड बढ्दै गएर थेग्न नसक्ने अवस्था भएपनि कैदीबन्दी नै मारिने अवस्था आउनुभन्दा उनीहरूलाई थुनामुक्त गर्नु नै उचित ठानिएको बताएका थिए ।

त्यसपछिको परिस्थिति चित्रित गर्दै रवि लामिछानेले आफू केहीबेर रास्वपाका नेताहरूसँग कारागारमा नै बसेको र त्यत्तिकै सामान्य गाडीमा बसेर घर जाँदा प्रदर्शनकारीहरू ढुंगामुढा गर्नसक्ने जोखिम भएकाले ‘रुफटप’ (छतपट्टीको भाग खोलेर गाडीभित्र बसेको मान्छेले टाउको बाहिर निकाल्न मिल्ने सुविधा भएको) गाडी मगाएर आफू घर जानुपरेको बयान दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय