मुम्बई – बलिउडकी चर्चित अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको बिहीबार मुम्बईको नानावती अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको छ। उनका भाइ ललित पण्डितले बीबीसी हिन्दीलाई जानकारी दिँदै भने, उनले राति ८ बजे हृदयघातका कारण मृत्यु भएको हो।
सुलक्षणा पण्डितले आफ्नो अभिनय करियर सन् १९७५ मा सञ्जीवकुमार अभिनीत फिल्म ‘उल्झन’ बाट सुरु गरेकी थिइन्। त्यसपछि उनले १९७० र १९८० को दशकमा सङ्कोच, हेरा फेरि, अपनपन, खानदान, धर्म कान्ता, चेहरे पे चेहरा र वक्त की दिवार जस्ता थुप्रै फिल्ममा अभिनय गरेकी छन्।
उनले आफ्नो समयका सञ्जीवकुमार, जितेन्द्र, राजेश खन्ना, शशि कपूर, विनोद खन्ना र शत्रुघ्न सिन्हा जस्ता प्रख्यात कलाकारहरूसँग काम गरेकी थिइन्।
सुलक्षणाको गायन करियर बाल गायिकाको रूपमा सुरु भएको थियो। उनले सन् १९६७ को फिल्म ‘तकदीर’ मा लता मंगेशकरसँग गीत गाएर आफ्नो गायन यात्रा आरम्भ गरिन्। पछि पार्श्व गायिका भएर उनले किशोर कुमार, मोहम्मद रफी, शैलेन्द्र, येसुदास, महेन्द्र कपूर र उदित नारायणसँग गीत गाएकी छन्।
सुलक्षणाले हिन्दीका साथै बंगाली, उडिया, गुजराती र मराठी भाषामा पनि गीत गाएकी थिइन्।
उनको अन्तिम संस्कार शुक्रबार दिउँसो १२ बजे मुम्बईमा हुने जनाइएको छ।





