मोरङ, उर्लाबारी – उर्लाबारी नगरपालिका–४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नम्बर २०६ मा अचेत अवस्थामा फेला परेकी २०–२२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार, कात्तिक १८ गते साँझ करिब ८:४० बजे उनी आफ्ना साथीहरूसँग बजार घुमेर फर्कँदा कोठामा अचेत अवस्थामा फेला परिइन्। तत्काल इलाका प्रहरी कार्यालय उर्लाबारीलाई जानकारी दिइएको थियो। प्रहरी नायब निरीक्षक चूडामणि पौडेलको टोली घटनास्थलमा पुगेको थियो र स्थानीय जनप्रतिनिधिको रोहवरमा उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल र ट्रमा सेन्टर, मङ्गलवारे पठाइएको थियो।
सुरुमा उनको नाम डोल्मा तामाङ उल्लेख भए पनि पछि परिवारले वास्तविक नाम सुस्मिता दर्जी भएको पुष्टि गरेका छन्।
अस्पतालका अनुसार उपचारको क्रममा राति करिब १०:३० बजे सुस्मिताको मृत्यु भएको हो। उनका शव हाल अस्पतालको शव गृहमा राखिएको छ।
प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको जनाएको छ। घटना रहस्यपूर्ण रहेकोले स्थानीय जनतामा चासो र चिन्ता उत्पन्न भएको छ।





