सप्तरी — वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचनाको केन्द्रमा परेका अग्नीसाईर–कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले अन्ततः अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उपाध्यक्ष कल्पना चौधरीको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराउँदै गरेको भिडियो सार्वजनिक भएपछि चौधरी विरुद्ध व्यापक विरोध भएको थियो।
अध्यक्ष चौधरीले उपाध्यक्ष कल्पना चौधरीलाई ५ असोजमै राजीनामा पत्र बुझाएका रहेछन्। सोही दिन गाउँसभा पनि बसिसकेको थियो।
राजीनामा पत्रमा उनले लेखेका छन्—
“विभिन्न कारणले पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु। पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन सकिरहेको छैन, त्यसैले स्वेच्छाले राजीनामा दिन्छु।”
उनीले गाउँपालिका अध्यक्षको रूपमा पाएको अनुभवलाई जीवनको महत्त्वपूर्ण उपलब्धि बताउँदै भविष्यमा पनि समाजसेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
पालिकाकी उपाध्यक्ष कल्पना चौधरीले ठूलो विवादपछि अध्यक्षको राजीनामा आज कार्यपालिका बैठकले स्वीकृत गरेको जानकारी दिइन्।
दिनानाथ चौधरी — एमालेबाट निर्वाचित अध्यक्ष
कल्पना चौधरी — नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष
जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण ५ असोजमा मात्रै गाउँसभा बसेको थियो।






