काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पुनः उम्मेदवारी नदिई स्वेच्छिक अवकाशको बाटो रोज्न आग्रह गरेका छन्। उनले ओली फेरि प्रतिस्पर्धामा उत्रिए ‘महापराजय’ भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।
एक युट्युब अन्तर्वार्तामा भट्टराईले भने—
“अध्यक्षज्यू, तपाईं आफ्ना मान्यतामा अडिनुस्। यदि त्यसै गरे लाखौँ, करोडौँ फलोअर्स बढ्छन्, घर–घरमा पूजा हुन्छ। तर फेरि प्रतिस्पर्धामा उत्रिनुभयो भने त्यो तपाईंको महापराजय हो। म चाहन्नँ, तपाईं पराजित हुनुहोस्। तपाईं जितेरै जानुस्।”
भट्टराईले ओलीकै पुराना वचन र मूल्य मान्यताहरू स्मरण गराउँदै भने—
“अध्यक्षज्यू, तपाईं आफैँले ७० वर्षे सीमा, दुई कार्यकाल र एउटै क्लासमा पटक–पटक परीक्षा नदिने मान्यता स्थापित गर्नुभएको थियो। अब त्यो नै फलो गर्ने बेला हो।”
उनीहरूको भनाइ अनुसार, ओलीले ११औँ महाधिवेशनमा उम्मेदवारी दिए भने चौथो पटक हुनेछ। नदिए तेस्रो पटकमै रोकिनेछ।
नेकपा एमालेले ११औँ महाधिवेशन मंसिर २७–२९, काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।
जेन–जी आन्दोलनपछि सचिव भट्टराईले UML पुनर्गठन, नयाँ पुस्तालाई ठाउँ दिने र ओलीले अब नेतृत्व त्याग्नु पर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएका छन्।
यसैबीच, अध्यक्ष ओलीले पूर्व–राष्ट्रपति विद्या भण्डारीलाई प्रतिस्पर्धाबाट रोकेपछि अब वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नै अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धीका रूपमा उत्रिने भएका छन्।
पार्टीभित्रको शक्ति–सन्तुलन, नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको भूमिकाबारे UML भित्र बहस झनै चर्किंदै गएको छ।

												
												
												
												
												
												



