काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले सोमबार नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग विस्तृत सोधपुछ गरेको छ।
आयोगले नख्खु कारागारको निरीक्षण गर्दै अन्य कैदीबन्दीहरूसँग पनि संवाद गरेको थियो। सोधपुछका क्रममा आयोगले लामिछाने थुनामै रहेकामा के परिस्थितिहरू भए, उनी कारागारबाट बाहिर निस्कनु पर्यो वा अन्य कैदीबन्दीहरू पनि त्यसपछिको घटनाबाट प्रभावित भए भन्ने विषयमा जानकारी लिएको छ।
पूर्व गृहमन्त्री लामिछाने र उनी आवद्ध पार्टीले भने जेलर सत्यराज जोशीको पत्रको आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए। आयोगले यसबारे पुष्टि गर्न जेलरसँग पनि सोधपुछ गरेको छ।
लामिछाने बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा थिए।
केही महिनाअघि उनलाई नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।
आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने भदौ २४ गते कारागारबाट बाहिर निस्केका थिए।
आयोगका पदाधिकारीहरूले कारागारको समग्र अवस्था, थुनाबाहिर निस्कनुपर्दाको अवस्था, जेलरको पत्र र त्यसपछिको परिस्थितिबारे विस्तृत अध्ययन गरी फर्किएको आयोगसम्बद्ध स्रोतले बताएका छन्।
गत साता आयोगका पदाधिकारीहरू उपत्यका बाहिर विभिन्न सूचना संकलन गरेर फर्किएका थिए। आइतबारदेखि आयोगले काठमाडौंका घटनामा केन्द्रित भएर अनुसन्धान सुरु गरेको छ। सोही आधारमा प्रहरी प्रधान कार्यालयले भदौ २३–२४ का दिन जिम्मेवारीमा रहेका इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरेको थियो।

												
												
												
												
												
												



