काठमाडौँ — ऊर्जा क्षेत्रमा सुधारका अभियानमार्फत जनविश्वास कमाएका कुलमान घिसिङ नेतृत्वमा गठन हुँदै गरेको नयाँ राजनीतिक दलको नाम ‘जनसेवा पार्टी’ रहने पक्का भएको छ।
हालै बसेका आन्तरिक छलफल र प्रारम्भिक बैठकहरूमा पार्टीको नामबारे धेरै विकल्प उठे पनि, अन्तिम रूपमा ‘जनसेवा’ नै अघि सारिएको र यही नाममा निर्वाचन आयोगमा दर्ता तयारी भएको स्रोतले पुष्टि गरेको छ।
घिसिङ–बालेन–सुमनाको समन्वयमा अघि बढिरहेको नयाँ राजनीतिक संरचना पछिल्ला दिनमा चर्चाको केन्द्र बनेको छ। स्रोतका अनुसार, पार्टीको नाम तय भएसँगै अब घोषणापत्र र केन्द्रीय संरचनाको अन्तिम रूपरेखा तयार गर्ने काम सुरु भएको छ।
यसअघि घिसिङलाई भावी प्रधानमन्त्रीको ‘मुख्य विकल्प’ को रूपमा अघि सार्ने सहमति बनेको कुरा बाहिरिएको थियो भने मेयर बालेन शाह भने प्रतिनिधि सभा चुनावमा नउठ्ने, मेयर पदमै केन्द्रित हुने निर्णय भएको बुझिएको छ।
स्रोतले भनेको छ—
“नामका धेरै प्रस्ताव आए, तर अन्तिममा जनता, सेवा र कार्यक्षमता झल्किने नाम नै अपनाउने निर्णय भयो। त्यसैले ‘जनसेवा’ फाइनल गरिएको हो।”
पार्टी गठन प्रक्रियाबारे आधिकारिक घोषणा भने अझै बाँकी रहेको छ, तर आन्तरिक तयारी तीव्र बनेसँगै जनसेवा पार्टी बहरा तरंग सिर्जना गर्दै राजनीतिक मैदानमा प्रवेश गर्न तयार देखिएको छ।

												
												
												
												
												
												



