कैलाली — जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा आइतबार साँझ धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, भारत लखिमपुर खीरी पलियाका २७ वर्षीय हरचित गुप्ताले चलाउने भारतीय नम्बर प्लेटको कार रोकिन खोज्दा शंका लागेपछि तलासी लिइयो। कारमा सँगै रहेका २९ वर्षीय सागर गुप्तासँग मिलेर दुवैजनाको साथबाट स्रोत नखुलेको २८ लाख ३ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ।
बरामद गरिएको नगदसहित कारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रवक्ताका अनुसार, उनीहरूले साथमा बोकेको रकमको स्रोत, प्रयोजन र सम्भावित अपराधसँगको सम्बन्धबारे अनुसन्धान तीव्र पारिएको छ। कानुनी प्रक्रिया अघि बढाइरहेको र आवश्यक विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।





