नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्थाअत्यन्त गम्भीर बन्दै गएकाले उनी हाल सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (KMC) को सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदैछ।

अस्पताल स्रोतका अनुसार आलमको मिर्गौलामा गम्भीर सङ्क्रमण (Severe Kidney Infection) देखिएको छ।
उनी केही समयदेखि नियमित डायलाइसिस गराइरहेका थिए। तर पछिल्ला केही दिनदेखि शरीरमा कमजोरी, ज्वरो र रक्तचाप असन्तुलित भएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको हो।

जाँचपछि चिकित्सकहरूले मिर्गौलामा सङ्क्रमण फैलिएको पुष्टि गर्दै तत्काल आईसीयूमा सारेर नजिकबाट निगरानीमा राखिएको बताइएको छ।

अस्पतालका एक वरिष्ठ चिकित्सकको भनाइ अनुसार— “सङ्क्रमण उच्च स्तरमा पुगेकाले अवस्था गम्भीर छ। उनको शरीरले औषधि प्रतिक्रिया लिन ढिलो गरिरहेको छ। तर उपचारका सबै विकल्प अपनाइएको छ।”

गत जेठमा नक्खु कारागारबाट रिहा भएको केही दिनमै उनी ब्रेन स्ट्रोक का कारण न्युरो अस्पताल भर्ना भएका थिए।
त्यसपछि उनको स्वास्थ्य निरन्तर कमजोर हुँदै आएको जनाइएको छ।

आफ्ताब आलमले आफ्नो राजनीतिक यात्रामा वन तथा वातावरण मन्त्री श्रम तथा रोजगार मन्त्री जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका छन्।

रौतहट क्षेत्र नम्बर २ बाट उनी पटक–पटक प्रतिनिधिसभामा विजयी पनि भएका छन्।

२०६४ सालतिर रौतहटमा भएको इट्टाभट्टा काण्ड—घाइतेहरुलाई जिउँदै जलाएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो।
जिल्ला अदालतले उनलाई जन्मकैद सुनाए पनि, उच्च अदालत वीरगञ्जले प्रमाण अपुग भएको भन्दै सफाइ दिएको थियो।

हाल सर्वोच्चमा त्यसबारे पुनरावेदन दर्ता छ र सुनुवाइ हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय