काठमाडौं,
आज (मंगलबार) बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेट जाँदा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको हल्का धक्का संखुवासभा र आसपासका केही स्थानमा महसुस गरिएको तर अहिलेसम्म कुनै क्षतिको सूचना प्राप्त नभएको केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो सामान्य प्रकृतिको भूकम्प हो।
“५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पबाट प्रायः क्षति हुँदैन। यो सामान्य भूकम्प हो,”
डा. अधिकारीले भने।
नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले स–साना धक्का सामान्य रूपमा आइरहने विज्ञहरूको भनाइ छ।






