काठमाडौं
नेपालमा हाल सक्रिय पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभर मौसम फेरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहानैदेखि देशका धेरै ठाउँमा आंशिकदेखि सामान्य बदली रहँदा केही स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले दिएको विवरणअनुसार गण्डकी र बागमती प्रदेशका केही भागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा आकाश सामान्यतया बदली रहने अनुमान गरिएको छ। तर, तराईका अधिकांश भागमा भने आंशिक बदली मात्र रहनेछ।
महाशाखाले जारी गरेको बुलेटिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने उल्लेख गरिएको छ।
त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।
विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्र—मनाङ, मुस्ताङ, धौलागिरि र आसपासका स्थानहरूमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको चेतावनी दिइएको छ।
आज राति पनि देशको मध्य र पश्चिमी भागमा बादलको प्रभाव कायम रहनेछ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहने महाशाखाको भनाइ छ।
महाशाखाले जनतासँगै पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा संलग्नलाई सतर्क रहन आग्रह गरेको छ।
“गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले जनजीवन र यात्रा दुवैमा असर पर्न सक्छ, आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।






