ललितपुर

गत शुक्रबार बिहान, गर्भवती ३४ वर्षीया मिनाश्री राई किष्ट मेडिकल कलेज पुगेकी थिइन्। चिकित्सकको सल्लाहअनुसार उनले डेलिभरी गराउने तयारीका लागि अस्पताल भर्ना भएकी थिइन्। तर साँझ साढे ५ बजेसम्म पनि सुत्केरी व्यथा नआएपछि घटनाक्रम अनपेक्षित मोडमा गयो।

मिनाश्रीका दाइ देवेन्द्र राई भन्छन्,“चिकित्सकले बच्चा राम्रो छ, नर्मल डेलिभरी नै हुन्छ भन्नुभयो। तर एक्कासी धेरै रगत बग्न थाल्यो। मेरो बहिनी त्यहीँ बाट गईन्।”

उनका अनुसार, इन्टर्न चिकित्सकहरूले जबरजस्ती नर्मल डेलिभरी गराउँदा रगत रोक्न नसकिएर मिनाश्रीको मृत्यु भएको हो।

“बिहान आफैं हिँडेर आएकी बहिनी अस्पतालको लापरबाहीले जान गयो,” देवेन्द्रले थपे।

मिनाश्रीको मृत्युपछि परिवारले अस्पतालमा प्रदर्शन र तोडफोड गरे। केही घाइते भएका छन्, जसको उपचार अस्पतालमै भइरहेको छ। परिवार र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज समेत प्रयोग गरेको छ।

परिवारका अनुसार, अस्पतालले मुख्य व्यक्ति नआउँदा छलफल गर्न नमानेको छ।

“कर्मचारीलाई छलफलमा राखिएको छ। मुख्य व्यक्ति आए मात्र हामी छलफलमा बस्छौँ,” देवेन्द्रले भने।

अस्पताल प्रशासनले भने सुत्केरीको मृत्यु भएको स्वीकार गरेको छ। तर उनीहरूले लापरबाही नभएको दाबी गरेका छन्। पीडित पक्षले दुई करोड क्षतिपूर्ति मागेको भए पनि प्रशासनले कानुनी प्रक्रिया अपनाउने तयारी जनाएको छ।

घटना पछि अस्पताल परिसर तनावग्रस्त भएको र परिवारले अस्पतालमा तोडफोड गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय