नेकपा (एमाले)का नेता योगेश भट्टराईले छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशसँगै राजनीतिक चेतावनी पनि दिएका छन्। उनले भनेका छन्, “जसरी प्रकृतिलाई थुनेर विध्वंश आउँछ, त्यसैगरी राजनीतिलाई रोक्न खोज्दा ठूलो वितण्डा निम्तिन सक्छ।”
भट्टराईले फेसबुकमार्फत् भिडियो सन्देश दिँदै पार्टीभित्र र समाजमा राजनीतिक गतिविधिको प्राकृतिक बहावलाई रोक्नु नहुनेमा जोड दिएका छन्। उनका अनुसार, राजनीतिमा सहज र स्वतन्त्र बहाव आवश्यक छ।
“पार्टीभित्र होस् वा समाजमा, राजनीतिलाई यसको प्राकृतिक बहावअनुसार अघि बढ्न दिनुपर्छ। यसलाई रोक्ने प्रयासले ठूलो समस्या निम्त्याउन सक्छ,” उनले भनेका छन्।
नेता भट्टराईले भदौमा भएको जेनजी आन्दोलनलाई पनि स्मरण गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताए। “२३ र २४ भदौका घटनाले हामीलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। अब नेपाललाई फेरि लोकतान्त्रिक अभ्यासमा फर्काउन र संविधानलाई क्रियाशील बनाउनुपर्ने समय हो।”
भट्टराईले सबै राजनीतिक दल र नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई सही दिशामा लैजानुपर्ने आवश्यकता औंल्याए। “जेनजी आन्दोलनपछि उदाएका नयाँ शक्तिहरूसँग पनि सहकार्य गर्दै हामीले ठोस समाधान निकाल्नुपर्छ। यसै क्रममा, यो छठ पर्वले हामीलाई एकता र सद्भावको बाटो देखाओस्,” उनले भनेका छन्।






