काठमाडौं। भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (आइतबार) युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ता र स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास, काठमाडौंमा उनलाई औपचारिक रूपमा सपथ दिलाएका हुन्। यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तारपछि सरकारमा मन्त्रीको संख्या १० पुगेको छ।

गुप्ता सिराहा, लहानका स्थायी बासिन्दा हुन्। उनी २८ वर्षकै उमेरमा संघीय सरकारको युवा तथा खेलकुद मन्त्री बनेका हुन्, उनी नेपालकै कान्छा मन्त्री बने ।

किशोरवयदेखि नै सामाजिक काममा सक्रिय, उनले १०० ग्रुप नामक सामाजिक संस्था स्थापना गरेर रगत, खाना, कपडा तथा शिक्षा जस्ता क्षेत्रमा सेवा प्रवाह गर्दै आएका छन्।

बब्लु आफैंले भने जीविकोपार्जनका लागि एक होस्टल र चिया पसल चलाइरहेका छन्।

उनै गुप्ता अन्ततः समाजसेवा हुँदै राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि नै सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका बब्लु जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

कोभिड–१९ महामारीको बेला राजधानीका मजदूर, विपन्न र भोकै परेका मानिसलाई निःशुल्क खाना उपलब्ध गराएकोमा उनको समूह चर्चित छ।

“किताब बैंक” र “प्रोजेक्ट शिक्षा” मार्फत गरिब विद्यार्थीलाई पढाइमा सहयोग गर्ने कार्यमा संलग्न छन्।

गुप्ता २३ गतेको आन्दोलनमा माइतीघर मण्डला देखि बानेश्वरसम्मको प्रदर्शनमा अग्रपंक्तिमा थिए।

प्रदर्शनका क्रममा प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदा समेत उनले बानेश्वर चोकमा नारा लगाउँदै आन्दोलनमा सहभागिता जनाएका थिए।

२०७७ असोज २ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा सहभागी हुँदा बबरमहलबाट पक्राउ परेका बब्लुलाई प्रहरी नियन्त्रणमा गम्भीर घाइते हुनेगरी कुटपिट गरिएको घटनाले उनलाई थप चर्चामा ल्याएको थियो। यस घटनामा छानबिन समिति समेत बनेको थियो।

उमेरले तीन दशक पनि नपुगेका गुप्ताले अब युवा पुस्ताका लागि कसरी काम गर्नेछन् ? त्यो भने समयले नै बताउनेछ । दैनिक हजारौंको संख्यामा विदेश गइरहेका युवाहरुलाई स्वदेशमै रोक्न र खेलकुद त्यसमा पनि क्रिकेटनमा नेपालले मारेको छलाङलाई निरन्तरता दिन उनले कसरी काम गर्छन् त्यो भने पर्खाइको विषय छ ।

हुनत छोटो समयका लागि चुनावी सरकारको मन्त्री बनेका गुप्ताले गर्नुपर्ने धेरै काम छन् । तर, समय अभाव नखड्केला भन्न सकिन्न । तर, गरेर देखाउनु पर्ने बाध्यता उनीमाथि छ ।
गुप्ता युवा पुस्तालाई खेलकुद र सामाजिक सेवामा संलग्न गराउन आफ्नो भूमिका सुनिश्चित गर्न लागिपरेका छन्।

उनले पदभार ग्रहण गर्दै भनेका छन्:“हामीलाई काम गर्न दिनुहोला। बोलेर होइन, काम गरेर देखाउनेछौं। दैनिक कामको प्रतिवेदन तयार गर्नेछौं। मात्र कुरा गरेर केही हुँदैन। मैले काम गरेर देखाउने प्रतिबद्धता लिएको छु।”

बब्लु गुप्ताको मन्त्री बन्नु सामाजिक कार्यकर्ता, युवा र जेनजी आन्दोलनसँग प्रत्यक्ष संलग्न व्यक्तिको सरकारले नेतृत्वमा स्थान दिने संकेत हो। चुनावी सरकारमा छोटो समय भए तापनि उनका कदमले युवा वर्ग र खेलकुदको क्षेत्रमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय