काठमाडौं ।
नेपालमा एक वर्षको बच्चालाई घरमै पढाउने वा व्यवहार सिकाउने होम ट्युसनको पारिश्रमिक साधारणतया १० देखि २० हजार रुपैयाँ मासिक रहन्छ।
तर बेलायतमा भने यस्तै काम गर्ने शिक्षकलाई वार्षिक साढे ३ करोड रुपैयाँ (१ लाख ८० हजार पाउण्ड) तलब दिनेगरी विज्ञापन प्रकाशित भएको छ।
ब्रिटिस मिडिया द सन का अनुसार लन्डनका एक अर्बपति दम्पतीले आफ्ना १ वर्षका बच्चाका लागि निजी शिक्षक खोज्दै यस्तो आकर्षक प्रस्ताव गरेका हुन्।
विज्ञापन Mumsnet नामक वेबसाइटमा सार्वजनिक गरिएको हो, जसले शिक्षणसम्बन्धी अवसरहरू खोज्ने योग्य व्यक्तिहरूलाई सहायता गर्छ।
उक्त विज्ञापनमा उल्लेख छ — प्रशिक्षकले बालकलाई ब्रिटिश संस्कृति, मूल्य र शिष्टाचार सिकाउनु पर्नेछ ताकि बालक कुनै सांस्कृतिक पूर्वाग्रहको प्रभावमा नपरोस्।
शिक्षकले उच्च शैक्षिक योग्यता, उत्कृष्ट शब्दभण्डार र सही उच्चारणको क्षमता राख्नुपर्ने बताइएको छ।
संगीत सिद्धान्त, भाषा, संग्रहालय, थिएटर, खेलकुद (जस्तै पोलो, डुंगायात्रा, विम्बलडन) बारे ज्ञान भएको शिक्षकलाई प्राथमिकता दिइनेछ।
शिक्षकले बालकलाई भविष्यमा इटन, सेन्ट पल्स वा वेस्टमिनिस्टर जस्ता प्रतिष्ठित विद्यालयमा भर्ना गर्न सक्ने स्तरको तयारी गराउनुपर्नेछ।
उक्त जागिरमा वार्षिक साढे ३ करोड रुपैयाँ तलबका साथै वर्षमा चार हप्ताको विदा, कार र चालकसहित भ्रमण सुविधा पनि दिइने उल्लेख छ।
एजेन्सीका अनुसार परिवार बहुभाषिक पृष्ठभूमिबाट आएको हो र उनीहरूले पहिल्यै ५ वर्षको उमेरमा पढ्न थालेका ठूला छोराका अनुभवबाट सिक्दै कान्छो बच्चाका लागि सुरुदेखि नै उत्कृष्ट शिक्षा दिन चाहेका हुन्।





