काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्कीले आफूले पार्टीभित्र पुनर्गठनको आवाज उठाएको कुरा सत्य भए पनि, त्यो रवि लामिछानेको विकल्प खोज्ने उद्देश्यले नभएको स्पष्ट गरेकी छिन्।
शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पछिल्ला दिनमा आफूविरुद्ध फैलाइएका “मिथ्या प्रचार” हरू गलत भएको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेकी छिन्।
“अहिलेको यथास्थितिमै पार्टी चलिरहने हो भने, चाहेर पनि रास्वपा मेजर पार्टी बन्न सक्दैन,”
तोसिमाले भनिन्,
“रास्वपा ठूलो हृदय र फराकिलो प्लेटफर्म लिएर अघि बढ्नुपर्छ। कृपया यो कुरा ‘रवि लामिछानेको विकल्प खोजिएको’ भनेर नलिनुहोस्।”
उनले पार्टीलाई वैकल्पिक शक्ति, स्वतन्त्र व्यक्ति, बुद्धिजीवी, नागरिक समाज र जेन–जेड पुस्तालाई समेट्ने गरी उदार र समावेशी बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
तोसिमा कार्की पछिल्लो समय पार्टीको सचिवालय विस्तार र निर्णय प्रक्रियाप्रति असन्तुष्ट देखिएकी थिइन्। उनले पुनर्गठनको आवाज व्यक्तिवादी नभई संस्थागत सुदृढीकरणका लागि भएको बताइन्।
“मैले आफ्नो पेशा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनाएकी हुँ।
पुनर्गठनको एजेन्डा कुनै व्यक्तिविरुद्ध होइन,
पार्टीलाई सबल र सक्रिय बनाउनका लागि हो,”
उनले भनिन्।
तोसिमाले पार्टी पंक्ति र कार्यकर्तालाई अनावश्यक आरोप र व्यक्तिगत आक्रमण नगर्न पनि आग्रह गरिन्।
उनले पार्टीलाई ठुलो बनाउन सचिवालय, पदाधिकारी र केन्द्रीय समितिको पुनरावलोकन आवश्यक भएको दोहोर्याइन्।
भिडियो सन्देशमार्फत उनले आगामी पार्टी विस्तारित बैठकका लागि तीन बुँदाका प्रस्ताव समेत राखेकी छिन् —
संगठनका सबै साथीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न अनुरोध।
राजनीतिक र संगठनात्मक प्रतिवेदनमा सहभागीहरूले राय दिन र मतदान गर्ने अधिकार हुनुपर्ने।
वैकल्पिक शक्ति र नयाँ पुस्तालाई अटाउने गरी पार्टीको पुनरावलोकन र पुनर्गठन, ताकि रास्वपा साझा प्लेटफर्म बन्न सकोस्।
तोसिमाको भनाइअनुसार, “जेन–जेड आन्दोलनपछि पनि यदि रास्वपा यथास्थितिमा रह्यो भने, आगामी चुनावमा एक्लै जाने विकल्प छैन। पार्टी उदार र समावेशी हुनैपर्छ।”






