काठमाडौं — देशकै प्रतिष्ठित पाँचतारे होटल हायात रेजेन्सी काठमाडौंले अनिश्चितकालका लागि सेवा बन्द गर्ने घोषणा गरेको छ।

होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीले शुक्रबार जारी गरेको सूचनामा हालै भएको आन्दोलन, तोडफोड र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “होटलको मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलतालाई मध्यनजर गर्दै होटलका सम्पूर्ण व्यवसायिक गतिविधि पूर्ण रूपमा स्थगित गरिएको छ। मर्मत तथा पुनर्निर्माण कार्य पूरा भएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुनेछ।”

होटल व्यवस्थापनले कर्मचारीहरूलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरेको छ। चौधरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भइसकेको छ र सम्पूर्ण श्रमिकलाई अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नआएसम्म होटल परिसरमा उपस्थित नहुन जानकारी गराइन्छ।”

हाल हायात रेजेन्सी परिसरमा भएको आन्दोलनका क्रममा तोडफोड, अराजक गतिविधि र सुरक्षाजन्य चुनौती देखिएको भन्दै व्यवस्थापनले होटल बन्दको निर्णय गरेको हो।

हायात रेजेन्सी काठमाडौं देशकै सबैभन्दा ठूला पाँचतारे होटलमध्ये एक हो, जहाँ लामो समयदेखि श्रमिक र व्यवस्थापनबीच तलब तथा सेवा–सुविधा सम्बन्धी विवाद चल्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय