काठमाडौं।
सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा “मिलापार्ने” प्रयास भइरहेको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त विषयमा गम्भीर चासो देखाएका छन्।
गृहमन्त्री अर्यालले शुक्रबार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन्।
सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा एक विपन्न परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका थिए।
पीडित परिवारका अनुसार, घटनामा संलग्न पाँच जनामध्ये तीन जनालाई राजनीतिक दबाबमा प्रहरीले रिहा गरेको आरोप छ।
साथै, प्रहरीले जाहेरी समेत दर्ता नगरेको भन्दै पीडित पक्षले प्रहरीमाथि गम्भीर प्रश्न उठाएका छन्।
घटनाबारे समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले आईजीपी खापुङलाई फोनमार्फत सम्पर्क गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।
स्रोतका अनुसार, गृहमन्त्रीले भनेका छन् —
“घटनाबारे बुझ्नुहोस् र कानुनी प्रक्रिया अनुसार अघि बढ्नुपर्छ।”
जवाफमा प्रहरी प्रमुखले पनि घटनाको विवरण बुझेर आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।
स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले यस घटनामा राजनीतिक हस्तक्षेप रोक्न र पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयको प्रत्यक्ष हस्तक्षेप माग गरेका छन्।





