नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारबारे गम्भीर आरोप लगाएका छन्।

शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ती हतियार आफैंले लुकाएको आशंका व्यक्त गर्दै भनेका छन्,

“लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको छ। जेनजी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु, अनि लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो शंका बलियो बनाएको छ।”

गृहमन्त्रीले हालै दिएको अभिव्यक्ति — “लुटिएका हतियार र भागेका कैदीबन्दी राजनीतिक दलले प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्छ” — प्रति आपत्ति जनाउँदै शाहीले उक्त अभिव्यक्तिले सरकारको नियत प्रश्नमा पारेको दाबी गरे।

उनले भने,

“गृहमन्त्री अर्याल अफवाह फैलाउने, सत्ता लम्ब्याउने र समाजलाई उत्तेजित पार्ने चालबाजीमा लागेका छन्। गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर आधिकारिक प्रमाणबिना नेताहरू भागे भन्ने गलत प्रचार गर्नु अत्यन्त गैरजिम्मेवार कार्य हो।”

शाहीले सरकार र गृहमन्त्री दुवै निर्वाचनको वातावरण अस्थिर बनाउनेतर्फ उन्मुख भएको आरोप पनि लगाए।

“अर्यालले बारम्बार हिंसा भड्काउने र अराजक अभिव्यक्ति दिँदै चुनावी माहोल नै बिगार्दैछन्,” उनले भने, “यस्तो व्यवहारले लोकतान्त्रिक प्रणालीमा जनविश्वास कमजोर बनाउँछ।”

धेरैले शाहीको अभिव्यक्तिलाई “राजनीतिक परिपक्वता भन्दा पनि बालकको प्रतिक्रिया” भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय