काठमाडौं — जेन–जी आन्दोलन पछि अमेरिका भागेको भन्ने हल्ला चलेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का शुक्रबार आफ्नै घरमा सार्वजनिक भएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि एक अन्तर्वार्तामा “भागाभाग सुरु भएको” उल्लेख गर्दै खड्का अमेरिका भागेको दाबी गरेका थिए।
उनका शब्दमा —“अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सक्रिय बनाएका छौं। कसैको भागाभागसमेत भएको छ — तत्कालीन ऊर्जामन्त्री भागिसके।”

तर शुक्रबार खड्का बुढानीलकण्ठस्थित आफ्नो जलेको घरमै पत्रकारहरूसँग देखिए, जहाँ उनी आन्दोलनका क्रममा जलेको आफ्नै घरको अवशेषबीच पत्रकारहरूसँग देशको पछिल्लो राजनीतिक अवस्था र भदौ २३–२४ का घटनाबारे खुलस्त कुरा गर्दै थिए।

उनले आफू कहीं नभागेको र अमेरिका गएको दाबी पूर्णतः असत्य भएको स्पष्ट पारे।

“म यहाँ नै छु, यो मेरो घर हो — जलेको पनि यही हो। म भाग्ने मान्छे होइन,” उनले पत्रकारहरूलाई भने।

जेन–जी आन्दोलनपछि गृहमन्त्री अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन अघि बढाउने घोषणा गरेका थिए। सो क्रममा खड्काको नाम ‘भागेका मन्त्री’ भनेर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको खोजी अभियानसमेत चलेको थियो।

तर शुक्रबारको सार्वजनिक उपस्थितिले ती सबै अफवाह र दाबी असत्य भएको प्रमाणित गरेको खड्काले बताए।

उनले भने,“देश संकटमा छ, नेताहरूलाई भाग्न नभई जिम्मेवारी लिनुपर्ने बेला हो। म यहाँ छु, मेरो सम्पत्ति पनि यहाँ छ — जलेको घरमै।”

जेन–जी आन्दोलनपछी अमेरिका पुगे भनिएका खड्का अमेरिकामा रहेका नेपालीले खोज्न थालेपछी त्यहाँबाट पनि भागेको खबरहरु सार्बजनिक भएका थिए ।

प्रहरी र गृह मन्त्रालय स्रोतका अनुसार खड्का हाल सुरक्षा निगरानीमा छन्, र उनीमाथि सम्पत्ति छानबिन प्रक्रिया भने रोकिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय