दाङ — दाङको घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित १३ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरमा कार्यरत इन्जिनियर प्रवीण रावत सहितका व्यक्तिहरू काठेकोलस्थित एक होटेलमा जुवातास खेल्दै गर्दा पक्राउ परेका हुन्।

दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेका वडाध्यक्ष अर्याल एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

त्यसैगरी पक्राउ पर्ने अन्य व्यक्तिहरूमा घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व प्रहरी निरीक्षक नारायणप्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ४५ हजार ९१५ रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरेको जनाएको छ।

यसबाहेक, प्रहरीले गए राति नै घोराहीकै अर्को जुवाको खालमा पनि छापा मारेको थियो। घोराही–१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री, र सोहेलमान मनसुरी समेत पक्राउ परेका छन्।

उनीहरूको साथबाट ६० हजार ६४० रुपैयाँ नगद बरामद गरिएको प्रहरीको भनाइ छ।

हाल सबै पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) दाङको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय