
काठमाडौँ । आविष्कारक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेको ‘रोलेक्स घडी’ सम्बन्धी व्यङ्ग्यात्मक टिप्पणी अहिले भाइरल बनेको छ।
पछिल्लो समय सञ्चारमन्त्री जगदीश खरेलको घडीबारे चलेको रोलेक्स विवाद बीच पुनले हाँस्य–व्यङ्ग्य शैलीमा लेखेको स्टाटसले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको हो।
पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन् —“मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरू। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जवरजस्ती दिनुभयो। मैले लगाएर हिँडेको भए त बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।”
उनले थप लेखेका छन् —“तीन वर्षअघि पनि यूकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएको थिएँ। तर अहिलेको यो घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।”
महावीर पुनको यो स्टाटसलाई प्रयोगकर्ताहरूले ‘सत्य बोल्ने व्यङ्ग्य’ भन्दै शेयर, लाइक र कमेन्ट गर्दै प्रशंसा गरेका छन्।
कसैले लेखेका छन् — “यस्तो हाँस्यमै पनि समाज र राजनीतिलाई देखाउने पुनकै शैली हो।”
पछिल्लो केही दिनयता रोलेक्स घडीको नाममा सामाजिक सञ्जालमा ठूला राजनीतिक बहस र व्यङ्ग्य चलिरहेका बेला, पुनको पोस्टले विषयलाई हास्य तर गहिरो सन्देशसहित प्रस्तुत गरेको जनाइएको छ।
पुन प्रायः सामाजिक सञ्जालमा देश, विकास, नवप्रवर्तन र जनजीवनका विषयमा व्यङ्ग्यात्मक र प्रेरणादायी टिप्पणीहरू गर्दै आएका छन्।