
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्ने व्यक्ति दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ हुन्।
प्रहरीका अनुसार, घिसिङले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेका थिए। उनले त्यही क्रममा प्रहरीको एक थान एसएलआर राइफल लुटेको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
घटनाका क्रममा उनले प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, बागमती खोलामा कुटपिट गर्ने र हतियार तथा गोलीगठ्ठा लुटपाट गरेको प्रहरीले जनाएको छ।
उनीसहितको ठूलो समूहले बानेश्वर वृत्तका प्रहरीलाई बर्दी खोल्न लगाइ हतियारसमेत लुटेर बागमतीको खोलैखोला लखेटेका थिए। खोलैखोला भागेका प्रहरीलाई पनि दुवै किनारबाट ढुंगा प्रहार गरिएको थियो। उनले प्रहरीको बर्दी र हतियार प्रदर्शन गरिरहेको भिडिओ फेला परेको छ।
ढुंगाले लागेर रगताम्य भएका प्रहरीलाई पनि भीडले छाडेको थिएन। हतियार र बर्दी समेत बुझाइसकेका प्रहरीले जतिबिन्ती गर्दा पनि निर्धात आक्रमण रोकिएको थिएन।
यस्तो कार्यमा संलग्नको भिडिओबाट पहिचान गरेर प्रहरीले खोजीकार्य तीव्र बनाएको छ। जेनजी आन्दोलनका क्रममा अन्य घटनामा संलग्नमाथि कारबाही गर्न सक्रीय नभए पनि हतियार लुट्ने र प्रहरीमाथी आक्रमण गर्नेहरूलाई भने प्रहरीले खोजतलास गरिरहेको छ।
जेनजी आन्दोलनमा तीन प्रहरी मारिएका थिए। १० कैदी र प्रदर्शनकारीसहित ६३ जनाको ज्यान गएको थियो। ती मध्ये केहीको प्रहरी लागेर र केहीको जेनजी आन्दोलनकारीले जलाउँदा ज्यान गएको हो।
नेपाली सेनाले भने २२ जना प्रदर्शनकारीको मृत्यु भएको र बाँकी अन्य रहेको रिपोर्ट सार्वजनिक गरेको छ।
प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, घिसिङमाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले जनाएको छ कि घिसिङ यसअघि पनि २०७९ असोज ४ र फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुर सम्बन्धी दुईवटा मुद्दामा फरार अभियुक्त रहेका थिए।