
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने र बर्दी खोल्न लगाउने गौतम घिसिङ पक्राउ परेका छन्।
गत भदौ २४ गते तीनकुनेमा भएको झडपका क्रममा आन्दोलनकारीले प्रहरी चौकी आक्रमण गरी हतियार लुटेका थिए। त्यस क्रममा घिसिङसहितका प्रदर्शनकारीले प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट समेत गरेका थिए।
आन्दोलन तीव्र बनेपछि केही प्रहरीले बागमती नदीमा हामफालेर ज्यान जोगाएका थिए।
प्रहरीका अनुसार, घटनाको छानबिन गरिरहेको टोलीले त्यतिबेलाको भिडियो फुटेज र तस्वीरहरूका आधारमा घिसिङलाई पहिचान गरी पक्राउ गरेको हो। उनीमाथि अहिले आक्रमण र हतियार लुटपाट सम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ।
सो दिन हतियार लुटपाटमा संलग्न अन्य केही व्यक्ति पहिल्यै पक्राउ परिसकेका छन्।